Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

पूर्वमन्त्री उमाकान्त चौधरी बेलायत आउँदै, जनसम्पर्क समितिद्वारा भेटघाट कार्यक्रममा सहभागी हुन आह्वान

२०८२ जेष्ठ २९, बिहीबार ११:५५

लन्डन, बेलायत।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरी आगामी जुन २१ देखि २७ सम्मको लागि बेलायत भ्रमणमा आउन लागेका छन्। उनको भ्रमण युनिभर्सिटी अफ हडर्सफिल्डको निमन्त्रणामा हुन लागेको जनसमपर्क समिति बेलायतका सभापति युवराज गुरुङले मिडियालाई जानकारी गराए।

हडर्सफिल्ड विश्वविद्यालयको ‘स्कूल अब ह्युमन एण्ड हेल्थ साइन्स’ द्वारा आगामी जुन २५ र २६ मा आयोजना हुन लागेको तेस्रो वार्षिक ‘ग्लोबल कन्सोर्टियम फर पब्लिक हेल्थ रिसर्च’ सम्मेलनमा पूर्वस्वास्थ्य मन्त्री चौधरीको सहभागिता हुने कार्यक्रम तय भएको छ।

बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट वि.सं. २०५६ र २०७४ मा संघीय सांसद तथा २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित चौधरीले अघिल्लो कार्यकालमा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी २०६३ मा कृषि तथा सहकारी राज्यमन्त्री र २०६५ मा स्वास्थ्य मन्त्री समेत बनेका थिए।

उनी यस पटक पत्नी गायत्री देवी थारुनी र छोरी डा. अर्चना चौधरीसहित बेलायत भ्रमणमा आउनेछन्। एक हप्ते बसाइका क्रममा चौधरीले बेलायतमा रहेका नेपाली संघसंस्था, राजनीतिक कार्यकर्ता, र समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय भएको छ।

यसैबीच, नेपाली जनसम्पर्क समिति, बेलायतले पूर्वमन्त्री चौधरीसँगको औपचारिक भेटघाट कार्यक्रम आयोजना गर्ने जनाएको छ। समितिका सभापति युवराज गुरुङका अनुसार जुन २२, आइतबारका दिन पश्चिम लन्डनस्थित फेल्थमको ‘नमस्ते गोर्खा रेस्टुराँ’ मा कार्यक्रम हुने भएको हो।

सभापति गुरुङले बेलायतवासी सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपालीजन तथा नेपाली कांग्रेसप्रति आस्थावानहरूलाई उक्त कार्यक्रममा उपस्थित भई पूर्वमन्त्रीसँगको विचार आदानप्रदानमा सहभागी हुन आह्वान गरेका छन्।